Pages

Sunday, April 6, 2014

सय वर्षको सहर

शताब्दी सहर विराटनगर विकास र सम्भावनाको उत्तरआधुनिक पथमा लम्कने तर्खर गर्दै छ। 'समृद्ध, समुन्नत र व्यावसायिक सहर, सुसंस्कृत बालमैत्री हाम्रो नयाँ विराटनगर' नयाँ विराटनगरको पछिल्लो नारा हो यो।
महाभारतकालीन विराट राजाको कर्मभूमि, मुलुक हाँक्ने दिग्गज राजनीतिज्ञ जन्मेको ठाउँ, राणा बहिष्कार आन्दोलनको सुरुवात, पहिलो उद्योग स्थापना र औद्योगिक क्रान्तिको थालनी आदि यस्ता धेरै विषयमा विराटनगरको अगुवाइ रह्यो। २००३ सालको मजदुर आन्दोलन विराटनगरबाटै उठ्यो।
ऊ बेलाको त्यो आन्दोलनको अगुवाइ गर्ने बीपी, तारिणी, गिरिजाप्रसाद कोइराला थिए। पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई 'फाटेको घेरो नभएको टोपी' पठाएर गरेको सांकेतिक विरोध देखेका कोइरालाहरू तिनै पिताजीले दिएको सुसंस्कारमा हुर्किएका थिए। पछि पिताजीका तीनभाइ छोरा मुलुकको प्रधानमन्त्री बने। संगतका मनमोहन अधिकारी पनि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने।
'हिङ नभए नि हिङ बाँधेको टालो' भने झैं अंशबन्डा हुँदा 'एेतिहासिक कोइराला निवास' अहिले शेखर कोइरालाको भागमा परेको छ।
गिरिजाप्रसाद कोइरालाका समकालीन तोरेन्द्रमानसिंह प्रधान विराटनगरको राजनीतिक वैभव अहिले पनि कम नभएको बताउँछन्। 'खासगरी कोइराला परिवारको योगदानले अहिले पनि विराटनगर पुलकित छ', उनले भने।
मनमोहन अधिकारीका उत्तराधिकारीका रूपमा एमालेका मोरङे नेताहरूले पनि मन्त्री पद पाएकै छन्। 'राजनीतिको यो निरन्तरता र नयाँ पुस्ताको पार्टीभित्र र सत्तामा भएको पकडलाई राजनीतिको पुस्ता हस्तान्तरण मान्न सकिन्छ', प्रधान भन्छन्, 'कोइराला परिवारबाट सुरु भएको विराटनगरको नयाँ राजनीतिमा नयाँ विरासत बन्दै छ।'
थपिँदै छन् उद्योग
विराटनगर र सुनसरी मोरङ औद्योगिक करिडोरमा उद्योग रुग्ण भई बन्द हुनेमात्र होइन खुल्ने क्रम पनि जारी छ। पुराना र थिलथिला पार्टपुर्जावाल उद्योग विविध कारणले बन्द भए। तर, आधुनिक र नयाँ उद्योग खुल्ने क्रम पनि रोकिएको छैन। यस्तै उदाहरणमध्येको एक हो ४० करोड रुपैयाँको लागतमा खुलेको जाजू शारदा समूहको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी उद्योग।
बढ्दो विद्युत् आपूर्ति कटौती, असुरक्षा र उत्पादन खर्चमा भइरहेको वृद्धि आदि कारणबाट करिडोरका कतिपय उद्योग बन्द भएका छन्। केही धराशायी बनेका छन। उद्योगी महेश जाजूका अनुसार नेपालमै आधुनिक प्रविधिको 'प्लान्ट' जडान गरी बिस्कुट उत्पादन सुरु गरिएको सहर हो विराटनगर। जाजू भन्छन्,'फास्ट फुडिङ कन्ज्युमर सेक्टरमा नेपाली उद्योगको उत्पादनले भारतीय उत्पादनलाई विस्थापन गर्न सक्छ।' तेस्रो मुलक र भारतबाट समेत ठूलो परिमाणमा नेपालतर्फ बिस्कुट आयात हुने क्रमलाई यसले केही हदसम्म रोक्न सक्छ।
सरकारले विशेष आर्थिक क्षेत्र निर्माण गर्न जग्गा खरिद गर्नुले पनि मुर्झाउँदै गएको यहाँको औद्योगिक क्षेत्रको विकासमा बल मिल्ने देखिएको छ। विराटनगर र सुनसरीको अमडुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ को बजेटमै रकम छुट्ट्याएको थियो। पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने,'साल्ट टे्रडिङको स्वामित्वमा रहेबाहेकको अरू थप जग्गा पनि सरकारले प्राप्त गर्नेछ।'
उद्योग संगठन मोरङका अध्यक्ष शंकरलाल अग्रवाल बहुप्रतीक्षित सेज स्थापनको लागि प्रारम्भिक काम सुरु हुनुबाट आशा पलाएको बताउँदै भन्छन्, 'सेज स्थापनाको लागि हामीले धेरै नै प्रतीक्षा गर्नु पर्‍यो। जग्गा खरिदसम्म हुनुले पनि आशा बढेको छ।' उद्योग संगठन मोरङको तथ्यांकअनुसार विराटनगर र औद्योगिक करिडोरमा पनि उद्योग थपिने क्रम रोकिएको छैन।
कतिपय उद्योगले क्षमता विस्तार गर्ने कामलाई पनि निरन्तरता दिएकै छन्। संगठनका कार्यकारी सचिव सोम अधिकारी भन्छन्,'विराटनगर औद्योगिक सहर हो। उद्योग थपिने क्रम अहिले पनि जारी छ। लगानी बढेकै छन्।'
बालमैत्री नगर
विराटनगरका होटेल तथा लजमा बालश्रमिक भेटिँदैनन्। होटेलका भित्ताहरूमा बोर्ड झुन्डिएका छन् 'यहाँ बालश्रम प्रयोग गरिएको छैन।' घरमा बालश्रमिक भए नभएको अनुगमन गर्ने काम बाल क्लब सञ्जाल र तिनमा आबद्ध सदस्यहरूले गर्छन्। मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोख्रेल भन्छन्, 'विराटनगरले पाएको यो ठूलो सफलता हो। सामाजिक अभियानकै कारण बालश्रममुक्त समाज सम्भव भएको हो।' विराटनगरलाई सन् २०१५ सम्ममा बालमैत्री नगर घोषणा गर्ने उपमहानगरको तयारी छ।
बालश्रम मुक्त नगर बनाउन गठन गरिएका बालश्रमिक क्लबहरूकै अभिप्रेरणाबाट यहाँ बाल क्लबको ठूलो सञ्जाल तयार भएको हो। स्थानीय राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नामक संस्थाले २०५८ मा श्रमिक बालबालिकाहरूलाई संगठित गर्ने काम थालेको थियो। संस्थाको बाल क्लब कायर्यक्रम संयोजक मेघराज मगर भन्छन्, 'दसवटा वडाबाट सुरु गरिएको अभियान अहिले सबै २२ वडासम्म फैलिएको छ।'
क्लबहरूमा २२ हजारभन्दा धेरै बालबालिका आबद्ध छन्। यसमा एक हजार दुई सय श्रमिक बालबालिका पनि संलग्न छन् जो अहिले पनि श्रम गरेर गुजारा गर्छन्। विराटनगर उपमहानगरपालिकाले बाल क्लबहरूको नेटवर्क बनेपछि चार सयभन्दा धेरै टोल संगठनमा क्लबहरू गठन गरेको छ। सामुदायिक मदरसाले पनि गठन गरेका छन्। विराटनगरका बाल क्लबहरूमा बालअधिकारबारे बुझ्न सक्ने नौदेखि १८ वर्ष उमेरसम्मका बालबालिका आबद्ध छन्।
सुरु भए ठूला परियोजना
सडक, ढल र नगर विकासको लागि एसियाली विकास बैंकको सहयोगमा परियोजनाको काम सुरु भइसकेको छ। नगर क्षेत्रका २५ हजार घरधुरीलाई लक्षित गरेर बैंकको दुई अर्ब ४० करोड रुपैयाँको सहयोगमा काम सुरु भएको हो। एक वर्षभित्रमा प्राविधिक कार्य सक्ने गरी परियोजनाका कामहरू अघि बढाइएको उपमहानगरले जनाएको छ।
मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजना (एसटीआईयूईआईपी) का इन्जिनियर भरत न्यौपानेले आगामी एक वर्षभित्रमा सम्पूर्ण प्राविधिक काम सकेपछि व्यवस्थित ढल र नालाको निर्माण कार्य सुरु भइसक्ने जानकारी दिएका छन्। व्यवस्थित ढलको निर्माण पछि घर तथा शौचालयबाट निस्कने फोहोरको पनि व्यवस्थापनमा हुनेछ। विराटनगरको ८२ किलोमिटर क्षेत्रफलमा ढल र नालाको निर्माण हुनेछ। यो निर्माण पछि विराटनगरमा डुवानको समस्या हटेर जानेछ।
इन्जिनियर न्यौपानेका अनुसार ढलबाट निस्कने फोहोर पानीको प्रशोधन केन्द्र विराटनगर-१८ स्थित जतुवा र विराटनगर- २२ स्थित छाला उद्योग नजिकै निर्माण हुनेछ। फोहोर पानी प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने १३ बिघा जमिन विराटनगर-१७ स्थित जतुवामा खरिद भइसकेको छ।
यस्तै ठूलो परियोजना हो विराटनगरको ६ लेन सडक। तत्कालका लागि बरगाछीदेखि राजवंशीचौकसम्मको काम सुरु भइसकेको परियोजनाले जनाएको छ।

उत्सव सय वर्षको
विराटनगर सदरमुकाम भएको शतवार्षिकोत्सव मनाउने संघारमा पुगेको छ। यसको समेत तयारीलाई तीव्रता दिइएको छ। मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर भएको एक सय वर्ष पुगेको छ। शतवार्षिकोत्सवको उद्घाटन यही चैत २६ गते राष्ट्रपति डा. रामवरण यादवले गर्दैछन्। सहिद रंगशालामा हुने उद्घाटन कार्यक्रमलाई भव्य बनाउन आयोजक विराटनगर उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रसँग सरोकार राख्ने संघसंस्थासँगको समन्वयमा विविध कार्य गरिरहेको छ।
शतवार्षिकोत्सव समारोह कार्यसम्पादन समितिका सदस्यसचिव पुनम दाहालले उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भएको जानकारी दिएका छन्। 'विभिन्न उपसमिति बनाएर कार्यक्रमको व्यवस्थापन गरिएको छ', उनले भने, 'विराटनगरको गौरवको विषय भएकोले यसको तयारीमा कुनै कमजोरी गरेका छैनौं।' छलफल, बैठक र परामर्श संकलन गर्ने कामलाई पनि निन्तरता दिइएको सचिव दाहालले बताए।
यो उत्सवले विराटनगरले एक सय वर्षमा प्राप्त गरेका उपलब्धि र कमजोरीलाई पनि उजागार गर्ने बताउँदै पत्रकार मोहन भण्डारी भन्छन्,'विराटनगरवासीका लागि आफ्नो ठाउँलाई बुझ्ने यो एउटा सुखद अवसर पनि हो।' शतवार्षिकोत्सव अवधिभर विराटनगरमा जन्मिएर अन्यत्र कर्मक्षेत्र बनाएकाहरू प्नि आउने र आफ्नो ठाउँलाई सद्भाव दर्शाउने भण्डारीले बताए।

नयाँ विराटनगर
उमेशप्रसाद ओझा
यस वर्ष विराटनगर शतवार्षिकोत्सव मनाउँदैछ। वर्षभरि मनाउने कार्यक्रमको सुरुवात अब चैत्र २६ गते राष्ट्रपति डा. रामवरण यादवबाट उद्घाटन समारोहबाट प्रारम्भ हुँदै छ। १९७१ सालमा रंगेलीबाट सदरमुकाम सरेर इतिहास रचेको विराटनगर यतिबेला आफ्नो राजनैतिक आर्थिक र सामाजिक परिवर्तनको संघारमा उभिन पुगेको छ।
विगतमा विराटनगरले देशको राजनैतिक परिवर्तनमा ठूलाठूला जंघार तर्‍यो। विराट जुट मिलबाट उद्योगको प्रारम्भ भएको नेपालमा त्यहीँका उत्पादनहरू मजदुर नेतादेखि राजनेतासम्म भए। समाजसेवी कृष्णप्रसाद कोइरालाका तीनै छोरा मात्रिका, बीपी र गिरिजाप्रसाद देशका प्रधानमन्त्री भए। तर, अहिले त्यही विराटनगर दिशानिर्देशको खोजीमा छ।
दोस्रो ठूलो सहरको रूपमा परिचित विराटनगर २०६८ सालको जनगणनाले चौथो स्थानमा पुग्यो। यहाँ बस्नेभन्दा हिँड्ने मानिस धेरै भए। जनसंख्याको अवस्था हेर्दा यहाँ सन् १९७१ देखि १९८१ सम्म अत्यधिक जनसंख्या वृद्धि ७.६ प्रतिशत थियो भने सन् २०११ देखि १.६ प्रतिशत जनसंख्या वृद्धि रहेको यहाँको तथ्यांकले देखाउँछ। जनसंख्याको घट्दो स्थिति १९८१ देखि प्रारम्भ भयो। यहाँ जनसंख्या वृद्धिको लागि पर्याप्त जमिने देखिए पनि उद्योगको उधोगति र उत्पादनमा ह्रास आउनु प्रमुख कारण मानिएको छ।
समयको अन्तरालमा विश्वका धेरै सहर उदाएर अस्ताएका छन्। औद्योगीकरणको रूपमा उदाएर सँगसँगै विलाएका छन्। विराटनगर चौतर्फी उद्योगले घेरिएको सहर हो र खासगरी बसोबास, रहनसहन औद्योगिक मैत्री छ। आर्थिक समृद्धि नभई सहर जति ठूलो भव्य गगनचुम्बी बाटाघाटा भए पनि खस्कँदो रहेछ भनेर त अमेरिकाको डेट्रायट सहरले देखाइसकेको छ। अहिले शतवार्षिकोत्सव मनाइरहँदा बुद्धिजीवी, राजनीतिज्ञ, टोलसंगठन, उद्योगीव्यापारीले विराटनगरबारे बृहत्तर बहस गर्नु जरुरी छ ।
रहर र चाहना गरेरमात्र हुँदैन। विराटनगरको विकासमा दृष्टिकोण प्रष्ट बनाउनुपर्छ। सरोकारवालाले केन्द्रमा पहुँच पुर्‍याएर विकासका प्याकेज ल्याउनुपर्छ। चाहे ती हवाई अड्डालाई अन्तर्राष्ट्रिय बनाउने होस्, अरुण तेस्रोको योजना होस्, औद्योगिक पुनर्जीवनको योजना होस्, ठूलाठूला अध्ययन अनुसन्धान केन्द्र चाहे हुन् या अन्य। यस्ता प्रयत्नले मात्र शतवार्षिकोत्सव सफल हुन्छ।
राज्यले बुझे हुन्छ, विराटनगरलाई पन्छाएर विकासको कुरा गर्नु त्रिखुट्टीको एउटा खुट्टा नहुनु सरह हुनेछ।
चिन्ताको कुरा के छ भने विराटनगरका विगतका चिनारीका विषय गतिहीन हुँदै गएका छन्। औद्योगिक, सांस्कृतिक, राजनीतिका पुराना इतिहासले मात्र अब विराटनगर बाँच्न सक्तैन। त्यसकारण अबको विराटनगरले आफ्नो नयाँ चिनारी बनाउनु आवश्यक छ।

मिति : २०७० चैत २२, शनिबार अन्नपूर्ण पोष्ट
http://www.annapurnapost.com/en/news/specialpage/5866/%E0%A4%B8%E0%A4%AF-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%B9%E0%A4%B0.htm

No comments: